काठमाण्डौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत तयार पारिएको बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) भित्र असन्तुष्टि चुलिँदै गएको छ। बन्दसूची सच्याउन माग गर्दै महिलाहरूको एक समूह आज पार्टी केन्द्रीय कार्यालय पुगेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउने उद्देश्यले पुगेका उनीहरूलाई संस्थापन पक्ष निकट महिला नेतृहरूले प्रतिवाद गरेपछि केही समय तनाव र चर्काचर्कीको स्थिति बनेको थियो।
अध्यक्ष लिङ्देन कार्यालयमा उपस्थित नभएपछि महिलाहरूले ज्ञापनपत्र कार्यालयमै छाड्दै आजैदेखि अनशन सुरु गर्ने घोषणा गरेका छन्। पार्टी कार्यालयमै रिले अनशन थालेकी एक महिला नेतृले आफू २०७० सालदेखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको भए पनि पार्टीले महिलाहरूलाई सधैँ उपेक्षा गरेको गुनासो गरिन्। समानुपातिक सूचीको महिला क्लस्टरमा गम्भीर भेदभाव गरिएको उनको आरोप छ।
असन्तुष्ट महिला समूहको नेतृत्व गरिरहेकी चम्पा अधिकारीले पार्टीका लागि लामो समय त्याग र संघर्ष गरेका महिलाहरूलाई पन्छाएर व्यक्तिगत पहुँचका आधारमा उम्मेदवार चयन गरिएको भन्दै सूची तत्काल सच्याउन माग गरिन्। प्रत्यक्ष निर्वाचनमा लड्न सक्ने क्षमतावान व्यक्तिलाई समानुपातिकमा राखिएकोप्रति पनि उनले असन्तुष्टि जनाइन्।
