काठमाडौं । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ । भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषदले एनआरएनएको कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो ।
तर, अमेरिकामा एनआरएनएको कुनै कार्यक्रम नै नरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विवाद उब्जिएको हो । आज एनआरएनए अमेरिकाका नाममा दुई वटा फरक आशयका विज्ञप्ति जारी भएपछि झनै संशय बढ्यो । मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भएको थियो ।
मन्त्री गुप्ता भने अनावश्यक रुपमा विवादको विषय बनाइएको बताउँछन् । मन्त्री गुप्ता दलबलसहित अमेरिका जान लागेको र केही मानिसहरुलाई उतै छोडेर फर्किने योजना रहेको भनेर समेत उजुरी परेको थियो । चर्को विवाद र आलोचनापछि उनले अमेरिका भ्रमण स्थगित गरेका हुन् ।
