पोखरा । पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दी इयरको अवार्डले सम्मानित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ ) ले पोखराको राष्ट्रिय सभा हलमा आयोजना गरेको स्पोर्ट्स अवार्डको २२औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गरे। स्पोटर्स अवार्ड पहिलो पटक मोसफलमा आयोजना भएको हो।
पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो। पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन्। गत वर्ष पलेसा एनएसजेएफ पारा एथलेट अवार्डबाट सम्मानित भएकी थिइन्।करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०८१ को वर्षखेलाडी घोषित भए। यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए। गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गरे।
गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए। यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन्। वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए। अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उनी नेपालका लागि सर्वाधिक विकेट लिने बलर थिए।
नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल भएका थिए। प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा ४ अर्धशतकसहित ३०८ रन र ७ विकेट लिएका थिए। गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षको सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जितिन्। उनले खोखोकी मानमती धामी, करातेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन्।
एरिकाले २०८० को पनि वर्ष महिला खेलाडी घोषित भएकी थिइन्। कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गरे। गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
यसरी एरिकाले चीनमा भएको २०औंँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक जित्न गौरव पनि हािसल गरिन्। भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जिते। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन्। हिमालले सर्वाधिक ४०।१० प्रतिशत मत प्राप्त गरे।
यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबल टेनिसकी इभाना थापामगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा थिए। खल्ती बाइ आएइमइका सिइओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले हिमाललाई पिपल्स च्वाइस अवार्ड प्रदान गरे।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे। बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मानित गरे। नेगीले दीपक महर्जन ( बक्सिङ ) , लक्ष्मीनारायण वैद्य ( खो खो ) , महेश रिजाल ( क्रिकेट ) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ ( कराते ) लाई निराश बनाए। पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए।
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पूजा महतो घोषित भइन्। अनिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पूजालाई अवार्ड प्रदान गरे। पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक ९एथ्लेटिक्स०, अञ्जली महर्जन ९कराते०, स्वस्तिका तिरुवा ९बक्सिङ० र समीर तामाङ ९फुटबल० पनि मनोनयनमा थिए।
गत वर्ष पुजा नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टोलीकी कप्तान थिइन्। सो छनोटमा पूजाले २७२ रन बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल भइन्। उनले कुवेतविरुद्ध अविजित १३० रनको शतकीय पारी खेलेकी थिइन्। सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बनेकी थिइन्।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन्। प्रभा पारा एथलेटिक्स खोलडी हुन्। नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन्। टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३।९६ मिटर उचाइ नाघेर ऐतिहासिक रजत पदक जितेकी हुन्। जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए।
पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन्। आफ्नो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कीर्तिमानी धावक जितबहादुर केसीका समकालीन हुन्। खेलाडी जीवनपछि उनी प्रशिक्षणमा उत्तिकै व्यस्त रहे। नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन्।
