काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरेका छन्। बुधबार काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन गरी उक्त समूहले महाधिवेशनको मिति घोषणासँगै व्यवस्थापनका लागि कार्यविभाजन र संयोजकहरू तोकेको हो।
महाधिवेशनलाई व्यवस्थित बनाउन गठन गरिएका उपसमितिहरूमा पूर्व जिल्ला सभापतिदेखि भ्रातृ संस्थाका पूर्वअध्यक्षहरूसम्मलाई जिम्मेवारी दिइएको छ। यसबाहेक आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका अन्य आवश्यक उपसमितिहरू पनि गठन गरिएको सचिवालयले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डप बुकिङ गरिसकिएको जानकारी दिएको छ। साथै, कार्यक्रम स्थल र प्रतिनिधिको सुरक्षाका लागि स्थानीय प्रशासनलाई पत्राचार समेत भइसकेको छ।
आयोजक पक्षले पार्टीको १५औं महाधिवेशन निर्धारित समयमा हुन नसकेको र विधानको पालना नभएको भन्दै बाध्यकारी अवस्थामा विशेष महाधिवेशन बोलाउनुपरेको दाबी गरेको छ। विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिताका लागि आग्रह गर्दछौं।’
