काठमाडौं । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । आज ( आइतबार ) विहान दुई नेताबीच च्यासलमा रहेको एक नेताको घरमा भेटवार्ता भएको हो । जेजजी आन्दोलनपछि यसरी दुई नेता आमुने सामुन्ने बसेर पहिलो पटक बार्ता गरेका हुन् । दुई नेताबीच आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।
भेटमा आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको बताईन्छ । यसको अलावा जेनजी आन्दोलनपछिको अवस्था, २१ फागुनको निर्वाचनको तयारीबारे सरकारले गरेको कामको समिक्षा र चुनावी सहकार्यको विषयमा दुई नेताबीच छलफल भएको बताईन्छ ।
प्रचण्ड आजै नयाँ दिल्ली उड्ने कार्यतालिका छ । उनी पार्टीनिकट प्रवासी संगठनको भेलालाई सम्बोधन गर्न आज नयाँ दिल्ली जान लागेका हुन् । उनको अन्य कार्यक्रम भने खुलाईएको छैन । उनी भोलि ( सोमबार ) साँझ नै काठमाडौं ओर्लने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।
