कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई मरेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन्। गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन्। स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए।
“गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन। यस विषयमा विगतमा पनि कुरा उठेको हो। सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्”, उनले भने, “हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो। गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको छ। मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन।”
पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे। पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे। उनले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए।
