काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि पौराणिक सहर साँखुस्थित शालिनदीमा औपचारिक रूपमा आरम्भ भएको छ। एक महिनासम्म चल्ने यो कठिन व्रत र पूजाका लागि पहिलो दिन नै शालिनदी क्षेत्रमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। विशेष गरी शंखरापुर नगरपालिकाको यस क्षेत्रमा माधवनारायणको दर्शन र स्नानका लागि देशका विभिन्न भागबाट भक्तजन पुगेका छन्।
वैदिक सनातन धर्मावलम्बीले आजदेखि घर–घरमा श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना र कथा वाचन सुरु गरेका छन्। स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यमा आधारित कुमार र अगस्त्य ऋषिबिचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन गर्ने परम्परा छ। यो सिलसिला आगामी माघ शुक्ल पूर्णिमासम्म निरन्तर जारी रहनेछ।
व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिनदेखि नै शुद्ध भई नङ काट्ने र निराहार बस्ने नियम पालना गरेका छन्। आज बिहानै पवित्र नदीमा स्नान गरी पूजा गरेपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गरेर व्रतको सुरुवात भएको छ। शंखजल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने जस्ता कडा धार्मिक अनुशासन पालना गर्नुपर्ने मान्यता छ। स्वस्थानी व्रतको पूर्णताका लागि माधवनारायणको पूजा अनिवार्य मानिन्छ।
यो एक महिनाको अवधिमा व्रतालुहरू खाली खुट्टा नै पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती र शंखमूल जस्ता विभिन्न धार्मिक तीर्थस्थलको पैदल यात्रा गर्छन्। स्वस्थानी र माधवनारायणको आराधनाले परिवारमा सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहेको छ।
