नवलपरासी । शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो । चितवनबाट बिहानै बाँकेको कोहलपुरका लागि हिँडेका बासुदेव सिंहले आफू ४ घण्टादेखि दाउन्नेको जाममा फसेका र सर्वसाधारणलाई जाडोले निकै प्रभावित पारेको बताए । उनले भने, ‘अगाडि पछाडि नै लामो जाम भएकाले समस्या भइरहेको छ ।’
राजमार्गमा केही दिनदेखि सवारी साधनको लामो जाम लाग्ने गरेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै सवारी साधनको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाई भएको छ । नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब एक हजार पाँच सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।
नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनिएर विकास खनालका अनुसार सडक निर्माण भइरहेको स्थानमा शीतलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको हो । खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकेर राखेको सूचना अधिकारी खनालले बताए ।
आयोजनाले आज सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक ९गैंडाकोट० रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौँ जाने सवारी साधन काठमाडौँ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।
दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । यो क्षेत्रमा शीतलहरका कारण राजमार्ग हिलाम्य हुदा सवारी साधनहरु सञ्चालनमा कठिनाई उत्पन्न भएको हुदा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।
