तनहुँ,बन्दीपुर । पहाडकी रानी भनेर चिनिने पर्यटकीय नगरी बन्दीपुरले नेपाली सांस्कृतिक इतिहासमै सुनौलो अक्षरले लेखिने एउटा क्षण सिर्जना गरेको छ । ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को समापन तथा तमु ल्होसार पर्वको पावन अवसर पारेर बन्दीपुरको टुँडिखेलमा एक हजारभन्दा बढी कलाकारले एउटै ताल, एउटै मञ्चबाट कौरा ( चुड्का ) नृत्य प्रस्तुत गर्दै सम्भावित विश्वकीर्तिमानको ढोका ढकढक्याएका छन् ।
‘हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने नाराले गुन्जिएको मैदानमा जब रंगीन भेषभूषामा सजिएका कलाकारहरू एकैसाथ लयमा नृत्य प्रस्तुत गरेका थिए । यो दृश्यले कौरालाई स्थानीय सीमाभन्दा बाहिर विश्व संस्कृतिको मञ्चमा उभ्याउने ऐतिहासिक आधार निर्माण गरेको सहभागीहरूको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाूले यस कीर्तिमानी प्रदर्शनले बन्दीपुरको पर्यटन विकासमा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । प्राकृतिक सौन्दर्यसँगै मौलिक संस्कृति जोडेर विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गाउँपालिकाको दीर्घकालीन लक्ष्य यस कार्यक्रमले थप मजबुत बनाएको उहाँको भनाइ थियो ।
गुरुङ, मगर, कुमाल, दरै, बाहुन–क्षेत्री, नेवारलगायत विभिन्न समुदायका कलाकारहरू आ–आफ्नो जातीय पहिचान झल्किने मौलिक पोसाकमा सजिएर एउटै मञ्चमा उभिँदा विविधताभित्रको एकता र नेपाली सांस्कृतिक आत्माको अद्भुत प्रतिबिम्ब देखिएको थियो । सम्पदा नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक हरिसिं गुरुङले यो सामूहिक कौरा प्रदर्शन तनहुँको सांस्कृतिक इतिहासमै अहिलेसम्मकै सबैभन्दा विशाल र कीर्तिमानी उपलब्धी भएको बताउनुभयो । यसलाई औपचारिक रूपमा विश्वकिर्तिमानमा दर्ता गराउने प्रक्रिया अगाडि बढाइने जानकारी उहाँले दिनुभयो ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैसबहादुर गुरुङले कौरालाई विश्वमाझ चिनाउँदै बन्दीपुरलाई अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले यो ऐतिहासिक पहल गरिएको उल्लेख गर्नुभयो । यस्तै, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले “बन्दीपुरमा आज कौराको इतिहास रचिएको छ” भनी टिप्पणी गर्नुभयो । यस महाअभियानमा आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयका गरी ६२८ जना विद्यार्थीले कौरा नृत्यमा सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत तथा भ्रमण वर्षको समापनलाई लक्षित तीन दिने महोत्सव पुस १७ गतेसम्म चल्नेछ । पुस १५ गते कीर्तिमानी कौरा प्रदर्शन सम्पन्न भइसकेको छ भने पुस १६ गते भव्य सडक खाना महोत्सव तथा भ्रमण वर्षको औपचारिक समापन समारोह आयोजना हुनेछ । पुस १७ गते विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित नयाँ वर्ष २०२६ को उल्लासपूर्ण स्वागत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
