काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३/ २४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् । सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् ।
तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ । बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्न् ।
२४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने उनको टिप्पणी छ । आन्दोलनमा भएको मानवीय क्षतिको पीडाबोध गर्दै आफूले नैतिक जिम्मेवारीसाथ राजीनामा दिएको उनले प्रष्टोक्ति दिएका छन् । घटनाक्रममा आफ्नै घरमा आगजनी हुँदा र त्यसको तनावले बिरामी आमाको निधन हुँदाको पीडालाई समेत आफूले गौण मानेको उनले बताएका छन्।
‘पितापुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तै भएको छ,’ लेखकले बयानमा भनेका छन्, ‘तर पनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु।’ लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि लामो संघर्ष गरेको व्यक्ति भएकाले नागरिकमाथि गोली चलाउने वा दमन गर्ने आदेश आफूले कहिल्यै नदिएको र दिन पनि नसक्ने उनले आयोगसमक्ष स्पष्ट पारेका छन्।
