काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ( शुक्रबार ) दिउँसो १ः०० बजे पुनः बस्ने भएको छ। बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको र क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशनको प्रस्ताव रहेको बताइएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।
