काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) र राप्रपा नेपालबिच पुनः एकता गर्ने सहमति भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार साँझ पार्टी एकतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार एकता गर्ने भनेर जम्मा दुई हरफ सहमतिपत्रमा हस्ताक्षर भएको हो । बाँकी कुरा क्रमशः मिलाइँदै जाने उनको भनाइ छ । एकताको सहमति पत्रमा हस्ताक्षर गरेपछि पत्रकारहरूसँग कुरा गर्दै दुवै अध्यक्षले पार्टीलाई अब कहिल्यै नफुट्ने गरी अगाडि बढाउने सङ्कल्प गरे ।
थापाले आगामी पुस १६ गते काठमाडौँमा पार्टी एकताको औपचारिक घोषणा हुने जानकारी दिए । गत भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलनले राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन उत्प्रेरणा दिएको उनको भनाइ छ । थापाले भने, ’विगतमा पार्टी टुटफुट हुँदा हामीले धेरै तीतो अनुभव र पीडा भोगेका छौँ, त्यसबाट हामीले पाठ सिकेका छौँ । अब यो एकता अजर, अमर र अटुट रहनेछ ।’ उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अब एकीकृत राप्रपाले देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे ।
उनले फागुन २१ गते तय भएको निर्वाचनमा पार्टीले जहाँबाट भन्छ त्यहीँबाट आफू चुनाव लड्न तयार रहेको बताए । उनले यो एकता ’बिना सर्त’ भएको दाबी समेत गरे । यसैगरी लिङ्देनले पार्टीका शुभचिन्तक र कार्यकर्ताहरूको निरन्तरको दबाब र सुझावका कारण यो एकता सम्भव भएको बताए । उनले यसलाई एक ऐतिहासिक आवश्यकताको रूपमा चित्रण गरे ।
लिङ्देनले भने, ’मुलुकको वर्तमान परिस्थिति र राष्ट्रवादी शक्तिहरूको आवश्यकतालाई ध्यानमा राखेर हामी एक ठाउँमा आएका हौँ । यो केवल दुई पार्टीको मिलन मात्र होइन, देशका सम्पूर्ण राष्ट्रवादी र हिन्दुराष्ट्र पक्षधरहरूलाई एउटै मञ्चमा ल्याउने अभियानको सुरुवात हो ।’ उनले पुस १६ गतेको घोषणा सभामा अन्य साना राष्ट्रवादी शक्तिहरूलाई पनि समेट्ने तयारी भइरहेको जानकारी दिए । लामो संवाद र गृहकार्यपछि भएको यो एकताले राप्रपाका कार्यकर्तामा नयाँ उत्साह थपेको केन्द्रीय सदस्य कार्कीले बताए ।
