काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भएको भेटवार्ताबारे स्पष्ट पारेका छन् । हिजो बालेन र रविबीच ५ घण्टा लामो छलफल भएको छ । सो छलफलमा आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाएर जाने विषयमा सहमति भएको चर्चा छ ।
तर, आज तारेखको लागि चितवन पुगेका लामिछानेले भने त्यो तहमा विषय प्रवेश नगरिसकेको स्पष्टपारे । उनले आफू यतिवेला वैकल्पिक शक्तिहरुलाई जोड्ने प्रक्रियामा रहेको उल्लेख गर्दै हिजो बालेनसँग भएको भेटपनि त्यही कडी भएको स्पष्ट पारे । तर, हिजोको भेटमा नै बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा समझदारीमा नपुगेको उनको स्पष्टीकरण छ ।
उनले भने,‘हामी त्यो चरणमा प्रवेश गरेका छैनौं । पहिले त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो । के कस्तो छ, कहाँ छ, के छ भन्ने बुझ्नुपर्यो। एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो । त्यो चरणमा छौं । हतार नगर्नुस न ।’ लामिछानेले अब छिट्टै हामी नेपालीका संयोजक सुदन गुरुङ र उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने जानकारी दिए ।
रवि र बालेनलाई पूर्णतः खारेज गर्नु समाधान होइन । नयाँ शक्तिको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । तर, नयाँ शक्तिले पनि संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ । नत्र, त्यो नयाँपन आफैँमा बोझ बन्छ ।
