काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीच पहिलो पटक छलफल हुन लागेको हो।
छलफलका लागि शीतलनिवासबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो पठाइसकिएको छ।
छलफल राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजे हुने गरी निम्तो आएको प्रचण्डको सचिवालयले पुष्टि गर्यो । दिउँसो ३ बजेका लागि भनेर संयोजक ज्यूलाई शीतलनिवासबाट निम्तो आएको छ। यसैगरी एमाले अध्यक्ष ओलीनिकट एक नेताले पनि छलफलका लागि जानकारी आएको बताए।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने दबाबमा सरकार रहँदा राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा पहिलो पटक शीर्ष तहमा छलफल हुन लागेको हो। त्यसकारण पनि यसलाई महत्वका साथ हेरिएको छ।
