विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना इन्टर्न चिकित्सकको अस्पतालकै भवनबाट खसेर ज्यान गएको छ। नोबेलको पाँचौ तलाबाट खसेर घाइते डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पताल प्रशासनले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे छ बजेतिर मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए। घाइते ३४ वर्षीय यादव गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल प्रशासक दिपेश राईले जानकारी दिए। यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको बताएको छ।
