काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । एमाले उपमहासचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद ( जबज ) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रीकरण जस्ता मुद्दाहरूलाई पार्टीको विधि र विधानभित्रै बसेर उठाइरहने निष्कर्ष निकालेको छ । आफ्ना विचारहरूलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी यो पक्षले गरेको छ ।
भेलाले महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणका लागि रचनात्मक भूमिका खेल्ने अठोट गरेको छ । यद्यपि, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको भन्दै यो पक्षले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोमा आपत्ति जनाउँदै आगामी दिनमा यस्ता प्रवृत्ति विरुद्ध सचेत रहने भट्टराईले बताएका छन् पार्टीभित्र हुन सक्ने गुटबन्दी र नेता(कार्यकर्तालाई काखापाखा गर्ने कुनै पनि प्रयास वा प्रस्ताव आएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय समेत भेलाले गरेको छ ।
नेता भट्टराईले पार्टीभित्र कुनै पनि किसिमको अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पार्दै वैचारिक र पद्धतिगत सङ्घर्षलाई नै प्राथमिकता दिने बताएका छन् । महाधिवेशनपछिको यो भेलालाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ ।
