काठमाडौं । प्रतिनिधिसभा पूनःस्थापनाको लागि रिट लिएर सर्वोच्च अदालत पुगेका विघटित प्रतिनिधिसभाका मुख्य दुई ठूला दलहरु नेपाली कांग्रेस र एमाले फेरि पूरक रिट लिएर जानेगरि तयारीमा जुटेका छन् । दुवै दलले आ–आफ्नो तर्फबाट हस्ताक्षर संकलन सुरु गरेका छन् ।
पुष २ गते बुधबारबाट नै कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् । एमालेका युवा नेता महेश बर्तौलाले पनि दुवै दलको तर्फबाट हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । उनकाअनुसार सरकार बनाउनको लागि आवश्यक बहुमतभन्दा बढि सांसदहरुको हस्ताक्षर संकलन गरिने र पूरक रिटमामार्फत बुझाईनेछ ।
यसअघि एमाले छुट्टै र कांग्रेसका पनि निवर्तमान ८ जना सांसदहरुले प्रतिनिधिसभा पूनःस्थापनाको लागि रिट दायर गरेका थिए । एमालेले त संस्थागत रुपमै संसद् पूनःस्थापनाको माग गरेको छ । त्यसको लागि आवश्यक परे सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ । कांग्रेसको पछिल्लो केन्द्रीय कमिटीको बैठकले भने २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको पक्षमा निर्णय लिएको थियो ।
तर, ढिलोगरि सभापति शेरबहादुर देउवापक्षधर सांसदहरु प्रतिनिधिसभा पूनःस्थापनाको रिट लिएर सर्वोच्च पुगेका छन् । तर, कांग्रेसमा संस्थापनइतरका नेताहरुले चुनावको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रतिनिधिसभा पूनःस्थापनातर्फ जान नहुने भन्दै त्यसको आलोचना गरेका छन् । रिट लिएर गएको विषयमा कांग्रेसले यो संस्थागत निर्णयको विषय नभएको र बरु व्यक्तिगत विषय भएको भन्दै पन्छिने काम गरेको छ ।
