काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेल शनिबार हुँदैछ। खेल त्रिपरेश्वरस्थित दशरथ रगंशालामा साँझ ५ बजे सुरु हुनेछ। पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियिनसिपको फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। गत मसिंर १९ गते सुरु भएको च्याम्पियनसिपमा कूल ५ टोलीले सहभागीता जनाएका छन्।
फाइनल अघिको प्रि(म्याच कन्फ्रेन्समा फाइनलका लागि तयार रहेको दुवै टोलीले बताए । एपिएफ क्लबका प्रशिक्षक जिवेश पाण्डेले टोली फाइनल खेल्न तयार रहेको बताए। हाम्रो टोली फाइनल खेल्न तयार रहेको छ, पछिल्लो खेलहरुमा भएको कमी कमजोरी माथि वर्कआउट गरेर हामीले तयारी गरेका छौ प्रशिक्षक पाण्डे भन्छन्, शनिबार हुने फाइनल खेल रोचक हुनेछ।
एपीएफ र इस्ट बंगाल अपराजित रहँदै फाइनलमा पुगेका हुन्। अपराजित यात्रामा ब्रेक नलगाई पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने योजनामा आफूहरु रहेको पाण्डेको भनाइ छ। इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसन भने पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधिमा आफनो नाम दर्ता गर्न चाहान्छन्।
यो च्याम्पियनसिपमा साफ मुलुकका महिला लिगको शीर्ष स्थानमा रहने टोलीले प्रतिस्पर्धा गरेका हुन्। लिग चरणमा इस्ट बंगाल १० अंकमा शीर्ष र एपिएफ ८ अंकमा दोस्रो स्थानमा रहँदै फाइनलमा छनोट भएका हुन्। लिग चरणमा एपिएफले इस्ट बंगालसहित दुई खेलमा बराबरी खेलेको थियो । महिला फुटबलको स्तरवृद्धिको लागि साफले क्लब च्याम्पियनसिपको आयोजना सुरु गरेको हो।
