अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित शान्ति योजनाबारे छलफल गर्न उनका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर सोमबार जर्मनी जाने भएका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा जर्मनी, फ्रान्स र बेलायतका शीर्ष नेताहरूसँग वार्ता गर्नेछन्।
ट्रम्पको शान्ति योजनामा युक्रेनले आफ्नो नियन्त्रणमा रहेको भूभागसमेत रूसलाई सुम्पनुपर्ने प्रस्ताव समावेश छ। जेलेन्स्कीले यसलाई लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। तर हालै उनले उक्त विषयमा जनमत संग्रहमार्फत निर्णय लिन सकिने सुझाव दिएका छन्, जसलाई ट्रम्पले सकारात्मक रूपमा लिएका छन्। यही पृष्ठभूमिमा विटकफ र कुश्नरलाई बर्लिन पठाउन लागिएको अमेरिकी अनलाइन माध्यम एक्सियसले जनाएको छ।
युक्रेनले बुधबार ट्रम्पको शान्ति योजनामा अमेरिकालाई बुँदागत प्रतिक्रिया पठाएको थियो। त्यसमा योजना अस्वीकार नगरी त्यसलाई कार्यान्वयनयोग्य बनाउन सुझाव र प्रस्तावित संशोधनहरू समेटिएका थिए। सोही दिन ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रों, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिच मर्जसँग फोनमार्फत यसबारे छलफल गरेका थिए।
यसअघि जेलेन्स्कीले युद्धपछिको पुनर्निर्माणबारे कुश्नरसहित अमेरिकी अधिकारीहरूसँग पनि कुराकानी गरेका थिए। उनले म्याक्रों, स्टार्मर र मर्जसँग बिहीबार भिडियो संवादसमेत गरेका थिए। ती नेताहरू यसअघि लन्डनमा भेटेर पनि योजनाबारे छलफल गरिसकेका थिए।
अमेरिकाले युक्रेनमाथि आफ्नो नियन्त्रणमा रहेको भूभाग रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्न दबाब दिइरहेको छ। तर जेलेन्स्कीले युक्रेनी भूमि हस्तान्तरण नगर्ने अडान दोहोर्याउँदै आएका छन्। यही विषयमा उनले डिसेम्बर ६ मा विटकफ र कुश्नरसँग दुई घन्टा लामो फोन वार्ता गरेका थिए।
यसअघि डिसेम्बर २ मा विटकफ र कुश्नरले मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पाँच घन्टा छलफल गरेका थिए, तर वार्ता निष्कर्षविहीन भएको थियो। पुटिनका सहयोगी युरी उशाकोभले भूमिसम्बन्धी विवाद समाधानको मुख्य अवरोध रहेको बताएका थिए।
त्यसपछि अमेरिका फर्किएर विटकफ र कुश्नरले पुटिनसँगको वार्ताबारे युक्रेनी पक्षलाई जानकारी गराएका थिए। तीन दिनसम्म चलेको छलफलपछि उनीहरूले डिसेम्बर ६ मा जेलेन्स्कीसँग पुनः फोनमा कुरा गरेका थिए। सो वार्तामा भूमि सम्बन्धी विषय र रूसले फेरि आक्रमण नगर्ने सुरक्षा प्रत्याभूतिबारे मुख्य चर्चा भएको थियो।
ट्रम्प प्रशासनले सुरुमा युक्रेनसँग सल्लाह नगरी रूससँग मात्र परामर्श गरेर २८ बुँदे शान्ति योजना तयार गरेको थियो। त्यसको व्यापक आलोचना भएपछि जेनेभामा अमेरिकी र युक्रेनी अधिकारीबीच छलफल भई १९ बुँदे मस्यौदा तयार गरिएको थियो। अत्यन्त संवेदनशील विषयहरू भने ट्रम्प र जेलेन्स्कीले प्रत्यक्ष रूपमा टुंग्याउने सहमति भएको थियो।
त्यसपछि अमेरिकामा फेरि दुवै देशबीच थप छलफल भए पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन। तर मुख्य रूपमा युक्रेनले त्याग्नुपर्ने भूभागबारे नै कुराकानी केन्द्रित भएको मानिन्छ। सो छलफलबारे पुटिनलाई जानकारी गराउन ट्रम्पले विटकफलाई रूस पठाएका थिए। पुटिनको प्रतिक्रिया पछि अमेरिका र युक्रेनबीच फेरि छलफल भएको थियो।
ट्रम्पको योजनाको युरोपमा मात्र नभई रिपब्लिकन पार्टीभित्र पनि आलोचना भइरहेको छ। केही अमेरिकी सांसदहरूले यो योजना ट्रम्प प्रशासनले होइन, रूसले तयार गरेको हुन सक्ने दाबी गरेको भन्दै विदेशमन्त्री मार्को रूबियोको भनाइ उद्धृत गरेका छन्।
योजनाप्रतिको विरोध बढेपछि ट्रम्पले यो प्रस्ताव अन्तिम नभएको र परिमार्जन सम्भव रहेको बताएका छन्। २८ बुँदे योजनामा युक्रेनले भूभाग त्याग्ने, सेनाको आकार सीमित गर्ने र युद्धविरामपछि पश्चिमी शान्ति सेनालाई कुनै भूमिका नदिने जस्ता प्रावधान समावेश छन्।
रूसले क्राइमिया र डोनबास क्षेत्रसँगै आफ्नो नियन्त्रणमा नभएका केही भूभागसमेत माग गर्दै आएको छ। युक्रेनले ती सर्त अस्वीकार गर्दै आएको छ, किनकि त्यस्तो निर्णयले रूसलाई भविष्यमा फेरि आक्रमण गर्ने बाटो खुल्ने उसको ठहर छ।
यही पृष्ठभूमिमा सोमबार विटकफ र कुश्नर बर्लिन पुगेर जेलेन्स्की र युरोपेली नेताहरूसँग पुनः वार्ता गर्ने तयारीमा छन्।
