अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोली हमलामा कम्तीमा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन्। घाइतेहरू अस्पतालमा उपचाररत छन् र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
स्थानीय समयअनुसार दिउँसो ४ बजेर ५ मिनेटतिर विश्वविद्यालयको एक भवनको पहिलो तल्लामा रहेको कक्षाकोठाभित्र गोली चलाइएको थियो। घटनामा परेका सबै व्यक्ति विद्यार्थी नै भएको पुष्टि गरिएको छ। हमलापछि कालो कपडा लगाएका एक पुरुषलाई भवनबाट बाहिर निस्किरहेको देखिएको जनाइएको छ। उनलाई लक्षित गर्दै प्रहरीको व्यापक खोजी अभियान सुरु गरिएको छ।
क्याम्पस क्षेत्र सिल
घटनापछि करिब ४ सय प्रहरी अधिकारीहरू परिचालन गरिएको छ। प्रोभिडेन्स सहरमा रहेको ब्राउन विश्वविद्यालय क्याम्पस नजिकको क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ।
अनुसन्धान जारी
हमलाकारीको पहिचान, हालको अवस्थिति, उद्देश्य, प्रयोग गरिएको हतियारको प्रकार तथा हतियार कहाँ छ भन्ने विषयमा अझै स्पष्ट जानकारी आएको छैन। प्रहरीका अनुसार बन्दुकधारी विद्यार्थी थिए कि थिएनन् भन्ने पनि पुष्टि हुन सकेको छैन।
घटनामा आतङ्कवादी संलग्नता रहेको–नरहेकोबारे प्रश्न गर्दा प्रहरी प्रमुखले त्यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन्। अनुसन्धानकर्ताहरूले बन्दुकधारीले अरू कसैको सहयोग लिएको थियो कि थिएन भन्ने विषय पनि खोतलिरहेका छन्।
गन भ्वायलेन्स अर्काइभ (जीभीए) का अनुसार ब्राउन विश्वविद्यालयमा मृत्यु भएका यी दुई विद्यार्थी सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोली प्रहारका घटनामा ज्यान गुमाउने क्रमशः ३४५औँ र ३४६औँ व्यक्ति हुन्। यो घटनासँगै यस वर्ष अमेरिकामा सामूहिक गोली प्रहारका घटनाको संख्या ३८९ पुगेको छ।
