नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र व्यक्तिवाद हाबी भइरहेको र नेतृत्व केही व्यक्तिको निर्णयमा मात्र सीमित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्तिले एमाले जनताबीच खुम्चिँदै जाने र आइशोलेशनमा पर्ने अवस्था बनिरहेको छ।
काठमाडौंमा एघारौँ महाधिवेशनसम्बन्धी अन्तरसंवाद कार्यक्रममा सोमबार बोल्दै पाण्डेले नयाँ पुस्ता आकर्षित नहुने वातावरण पार्टीभित्र बनिरहेको बताए।
उनले भने, “नयाँ पुस्ताले देखिरहेको छ चुनाव हुँदैन, प्रतिस्पर्धा गर्न पाइँदैन, माथिबाटै लिस्ट बनाएर नेतृत्व बनाइन्छ। यस्तो पार्टीमा किन आउने भन्ने प्रश्न स्वाभाविक छ।”
उनका अनुसार पार्टीलाई पुनः विस्तार गर्न नेतृत्व संरचना र प्रक्रियामा परिवर्तन आवश्यक छ। यसका लागि कानुनी तथा संवैधानिक सुधार अनिवार्य रहेको उनले बताए।
पाण्डेले एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने प्रावधानलाई कानुनमै सुनिश्चित गर्नुपर्ने धारणा राखे।
उनले भने, “यो केवल राजनीतिक मुद्दा होइन, यसको समाधान कानुनी र संवैधानिक तहमा पनि गर्नुपर्छ। एउटै व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै ल्याउन आवश्यक छ।”
पाण्डेले यो समस्या एमालेमा मात्र नभई नयाँ गठन भएका पार्टीहरूमा समेत देखा पर्दै गएको उल्लेख गरे। उनका अनुसार नयाँ पार्टीका नेताहरूसमेत नेतृत्व पद छाड्न नचाहने प्रवृत्तिमा देखिन्छन्, जसले समस्या झनै गम्भीर बन्दै गएको छ।
