नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने तय भएपछि सभापति पदका आकांक्षीहरूले खुलेर उम्मेदवारी घोषणा गर्न थालेका छन्। शेखर कोइराला, गगन थापा र कल्याण गुरूङले सभापतिमा उठ्ने संकेत गरिसकेका छन्।
तर वर्तमान सभापति शेरबहादुर देउवा भने लगातार दुई कार्यकाल पूर्ण गरिसकेकाले विधानअनुसार अब उनी फेरि सभापति बन्ने स्थिति छैन। विधान संशोधन गरेर उठ्ने पक्षमा पनि देउवा छैनन्। उनले हालैको केन्द्रीय समिति बैठकमै नेतृत्व हस्तान्तरण गर्ने चाहना व्यक्त गरेका थिए। साथै, गत वर्षदेखि नै आफू राजनीतिक जीवनबाट अवकाश लिने तयारीमा रहेको बताउँदै आएका छन्।
भदौ २४ को जेनजी आन्दोलनमा देउवा दम्पतीमाथि भएको आक्रमणपछि उनीहरू उपचार गराएर फर्किएका छन्। यता, कांग्रेसले पुस १६ देखि २८ गतेभित्र वडादेखि केन्द्रसम्म अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ, जसको तयारी तीव्र रूपमा भइरहेको छ। क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणका काम तल्ला तहमा चलिरहेको छ।
यसैबीच, केन्द्रमा महाधिवेशनका पदाधिकारीका लागि सम्भावित उम्मेदवारहरूलाई लिएर छलफल तीव्र छ। कांग्रेसभित्रका विभिन्न समूहले आफ्नो समूहबाट एक जनालाई सभापतिमा उठाउने तयारी गरिरहेका छन्। देउवा स्वयं सभापति बन्न नसक्ने भएपछि उनको समूह अहिले नयाँ सभापतिका लागि उम्मेदवार छान्न व्यस्त छ।
देउवानिकट नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रकाशशरण महत सबैलाई सम्भावित दाबेदार मानिन्छ। पछिल्लो समय यी नेताहरूलाई “७ भाइ” भनेर चिनिने चलन थियो, अब खड्कालाई समेटेर “८ भाइ” बनाएर एकै समूहका रूपमा अघि बढाउने तयारी भइरहेको छ।
देउवानिकट केन्द्रीय सदस्यहरूले कार्यवाहक सभापति र “८ भाइ” बीच सहमति गरेर सभापति उम्मेदवार तय गर्न आग्रह गरेका छन्। अन्य पद भने उनीहरूले आपसैमा मिलेर बाँडफाँड गर्ने संकेत दिएका छन्।
कांग्रेसमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १३२ केन्द्रीय सदस्य महाधिवेशनबाट चुन्ने प्रणाली छ। सभापतिबाट ३३ जना मनोनयन हुने व्यवस्था समेत छ।
देउवा समूह एकढिक्का बनाउन खोजिए पनि अझै उम्मेदवार टुंगो लागेको छैन। सम्भावित दाबेदारमा खड्का, निधि, सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला सबैको नाम चलिरहेको छ। निधि र सिंह १४औँ महाधिवेशनमा पनि देउवासँगै प्रतिस्पर्धी थिए।
देउवाले यसपटक आफ्नो समूहको तर्फबाट स्पष्ट रूपमा कसलाई सभापति बनाउने भन्ने संकेत नदिएको नेताहरू बताउँछन्। देउवाले दिएको कार्यवाहक जिम्मेवारीका कारण खड्का पनि अगाडि देखिएका छन्, तर निर्वाचन आयोगमा हाल दर्ता हस्ताक्षर भने देउवाकै छ।
शशांक कोइरालाले हालै चितवनमा “कोइराला परिवार एकढिक्का रहने” संकेत गर्दै सभापति पदमा आफू वा शेखर कोइरालामध्ये एक जना उठ्ने बताएका छन्। यसले उनी देउवा समूहबाट टाढिन पनि सक्ने देखिन्छ।
केन्द्रीय सदस्य कल्याण गुरूङले पनि प्यानल बनाएर सभापति उठ्ने घोषणा गरेका छन्। यद्यपि १४औँ महाधिवेशनमा उनले केवल २२ मत पाए पनि देउवाले उनलाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए।
क्रियाशील सदस्यतादेखि वडा, गाउँ/नगर तथा क्षेत्रीय अधिवेशन सकिएपछि मात्र सभापतिसहित सबै पदमा को–को उठ्ने हो भन्ने स्पष्ट हुनेछ। केही नेताहरूले पुसभित्र नियमित महाधिवेशन नभई विशेष महाधिवेशनमा जानुपर्ने सम्भावना पनि व्यक्त गरेका छन्। ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेका बेला नियमित महाधिवेशनको कार्यतालिका आएको हो।
