भारतको गोवामा अवस्थित एक नाइट क्लबमा भएको भीषण आगलागीमा चार जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। हिन्दुस्तान टाइम्स ले सोमबार सार्वजनिक गरेको मृतकहरूको सूचीमा चार नेपाली नागरिकको नाम उल्लेख गरिएको हो।
आइतबार राति ब्रिच बाइ रोमियो लेन नाइट क्लबमा आगो लाग्दा २५ जनाको ज्यान गएको थियो। तीमध्ये चार नेपाली रहेको भारतीय मिडियाले जनाएको छ।
ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन्। घटनाबारे परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि पुष्टि गर्दै भने, “चार जना नेपाली नागरिक मृत्यु भएको दुखद जानकारी प्राप्त भएको छ। नयाँ दिल्लीस्थित दूतावासले स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको छ।”
उनका अनुसार, मृतकहरूको थप विवरण संकलन गर्ने कार्य जारी छ, तर विस्तृत विवरण अहिले सार्वजनिक गरिएको छैन।
