हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका नगरवासीका लागि ९ बुँदे सहुलियत तथा सहयोग योजना पारित गरेको छ। आइतबार बसेको ७६औँ कार्यपालिका बैठकले विस्थापित घरधनी तथा व्यवसायी लक्षित निर्णयहरू गरेको हो।
बैठकले सडक विस्तारका कारण घर भत्किएका नागरिकलाई पुनः आवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यसैगरी, व्यवसाय स्थल गुमेर कारोबार गर्न नसकेका व्यापारीहरूको लगत संकलन गरी, उनीहरूले पुनः व्यवसाय सुरु नगरेसम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गरिनेछ।
निर्णयअनुसार प्रभावित क्षेत्रमा ‘हेटौंडा पहिचान’ झल्किने नमूना घर मोडल कार्यान्वयन, फास्ट–ट्र्याकमार्फत नक्सापास सेवा, २,०२० वर्गफुटसम्म नक्सापास दस्तुर छुट, र निर्माण सामग्री आपूर्तिमा सहजीकरणसमेत गरिनेछ।
यससँगै त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा घोषणा गर्न संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव अघि बढाइने उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले सडक विस्तारमा सहयोग गरेका सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्दै निर्णयहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।
