२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबार विशेष अदालतमा प्रस्तुत भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका अधिकारीलाई आज अख्तियारको टोलीले अदालतमा पुर्याएको हो।
अधिकारीलाई १७ मंसिरमा भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा घटेको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। १९ मंसिरमा भएको थुनछेक बहस न्यायाधीशले मुद्दा हेर्न मिल्ने–नमिल्ने प्रश्न उठाएपछि स्थगित भएको थियो। आज न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सो मुद्दाको सुनुवाइ भइरहेको छ।
यसैबेला, अदालत परिसर बाहिर अख्तियारले अधिकारीसहित ५६ जनामाथि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपपत्र दर्ता प्रक्रियामा रहेको स्रोतहरूले बताएका छन्। सो मुद्दामा पनि अधिकारीलाई प्रतिवादीका रूपमा समावेश गरिएको छ।
यसरी प्रदीप अधिकारीविरुद्ध एकैदिन विशेष अदालतमा दुईवटा भ्रष्टाचार मुद्दा पुगेका छन्, र उनी दुवै प्रक्रियाका बीचमा अदालत परिसरमै उपस्थित छन्।
