विश्व फुटबल नियामक संस्था फिफाले पहिलो पटक आफ्नो नयाँ शान्ति–सम्मान ‘FIFA Peace Prize – Football Unites the World’ अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई प्रदान गरेको छ।

यो पुरस्कार २०२६ वर्षको फिफा विश्वकपको अन्तिम ड्रा आयोजना भइरहेका बेला वाशिंगटन डीसीस्थित John F. Kennedy Center for the Performing Arts मा शुक्रबार आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पलाई सम्मान हातसार गरे।
इन्फान्टिनोले पुरस्कार प्रदान गर्दै भने, “फुटबलले संसारलाई एकजुट पार्छ। विश्वमा सुरक्षा, शान्ति र एकताको पक्षमा ठूलो योगदान दिएकाले राष्ट्रपति ट्रम्प यस सम्मानका योग्य ठहरिएका छन्।” उनका अनुसार, शान्ति र सद्भाव फैलाउन ‘फुटबल युनाइट्स द वर्ल्ड’ अभियानअन्तर्गत यो पुरस्कार स्थापना गरिएको हो।

फिफाले जनाएको अनुसार, यो पुरस्कार प्रत्येक वर्ष शान्ति, मैत्रीपूर्ण सम्बन्ध र मानवीय एकता प्रवर्द्धन गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ। पुरस्कारसँगै प्रदान गरिएको ट्रफी र मेडल अझरबैजानी कलाकार साल्हब मामादोभ र अली इबादुल्लाएभले डिजाइन गरेका हुन्।
फिफाले विश्व फुटबल समुदायको तर्फबाट शान्तिको सन्देश दिने उद्देश्यले यो पुरस्कार औपचारिक रूपमा सुरु गरेको हो।
