काठमाडौं, १८ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आसन्न ११औं महाधिवेशनमा पनि अध्यक्ष पदमा केपी शर्मा ओली नै दोहोरिने निश्चित भइसकेको दाबी गरेका छन्। पार्टीभित्र अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै आवश्यकता नरहेको उनले स्पष्ट पारे।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिरहेका बेला, रिमालले इच्छुकले आकांक्षा व्यक्त गर्न पाउने बताए। तर, पार्टी कमिटीले गर्ने निर्णय सबैले मान्नुपर्ने उनले बल दिए। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै जरुरी म देख्दिन। इच्छा व्यक्त गर्न पाइन्छ, तर अन्तिम निर्णय कमिटीको हुन्छ र त्यसलाई सबैले बोक्नुपर्छ।”
रिमालले महाधिवेशन सम्पन्न भएपछि एमालेमा देखिएको दुई धार अन्त्य हुने दाबी गरे। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल आ–आफ्नो समूहसहित महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिदैछन् भन्ने चर्चाबारे उनले भने, “चुनाव लडियो भने पनि धार एकै हो, विचार फरक छैन। जित्नेले नेतृत्व गर्छ, अर्को साथी सहयोगी भएर अघि बढ्छ।”
नेतृत्व आकांक्षा राख्नेहरूबारे रिमालले “चर्चामा आउने रहर” भएको टिप्पणी गरे। उनका अनुसार कम्युनिस्ट पार्टीमा व्यक्तिगत रूपमा ‘म नै यो हुन्छु’ भन्ने संस्कार हुँदैन, तर अन्य दलहरूको प्रभावले यस्तो प्रवृत्ति देखिने गरेको छ।
कम्युनिस्ट पार्टीमा नेतृत्व ‘टिम मेकिङ’ मार्फत बन्ने भन्दै रिमालले अध्यक्षका रूपमा ओलीको नाम टुङ्गिएको बताए। “टिममा नम्बर १ को विषय फाइनल भइसकेको छ अध्यक्ष केपी ओली। यो ठहरै हो, लेखेर राखे पनि हुन्छ, छापे पनि हुन्छ,” उनले भने।
अध्यक्ष बाहेकका पदमा भने छलफल जारी रहने उनको भनाइ छ। “महाधिवेशन सकिएपछि अध्यक्ष को भन्ने प्रश्नमा उत्तर एकै हो केपी शर्मा ओली। त्यसपछि अरू पद कसरी मिलाउने भन्नेमा छलफल हुन्छ,” रिमालले स्पष्ट पारे।
महाधिवेशन प्रतिनिधि छनोटमा पक्षपात भएको भन्ने आरोपबारे रिमालले प्रतिक्रिया दिँदै ती सबै ‘हल्ला’ मात्र भएको दाबी गरे।
