काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ। आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना कमजोर भएपछि उनले पद छोड्ने निर्णय गरेको बताइएको छ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो। तर सत्तापक्षकै सांसदहरू अनुपस्थित हुने संकेत पाएपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले अहिलेको स्थितिमा विश्वासको मत जुट्न कठिन देखिएको हुँदा मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए। महतोका अनुसार, “विश्वासको मत लिँदा पनि बहुमत पुग्ने अवस्था छैन, त्यसैले राजीनामा नै उपयुक्त विकल्प हो।”
मुख्यमन्त्री यादवले पनि आफ्ना निकटस्थहरूसँग राजीनामा दिन मनस्थिति बनाएको बताएका छन्। एक सांसदका अनुसार, “मुख्यमन्त्रीले २ बजेको बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिने सोच बनाइसक्नु भएको छ। राजीनामाको भाषाबारे छलफल हुँदैछ।”
मुख्यमन्त्री यादव गत कात्तिक २३ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता भएको हैसियतमा नियुक्त भएका थिए। यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि उनी सबैभन्दा ठूलो दलको नेता भएकाले नियुक्ति पाएका थिए। तर उनको नियुक्ति सर्वोच्च अदालतमा चुनौती दिई मुद्दा दायर गरिएको थियो।
मुख्यमन्त्री विवाद बढ्दै जाँदा सरकारलाई प्रदेश प्रमुख भण्डारीलाई फिर्ता गर्नुपरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि पदबाट हटिसकेका छन्।
