काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन कार्यतालिकामा राखिएको समय–अन्तर (ग्याप) बारे प्रश्न उठाएका छन्। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गरेको थियो। थापाले बैठकमा लिखित अतिरिक्त प्रस्ताव पेस गर्दै कार्यतालिकामा देखिएको समय ग्यापबारे छलफल आवश्यक भएको उल्लेख गरेका छन्।
लिखित प्रस्तावमा उनले भनेका छन्, “नियमित महाधिवेशन जुनसुकै अवस्थामा पनि हुनुपर्छ। कुनै कारणले नियमित महाधिवेशन हुन नसक्ने भए स्वतः विशेष महाधिवेशन हुनेछ।” उनका अनुसार, संस्थापन पक्ष हस्ताक्षर फिर्ता गराएर मात्रै कार्यतालिका ल्याउने अडानमा थियो। तर आफू र महामन्त्री विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ता नहुने स्पष्ट अडान राखेपछि संस्थापन पक्षले कार्यतालिका ल्याउन बाध्य भएको उल्लेख छ।
थापाले पेस गरिएको कार्यतालिका कार्यान्वयन गर्न इमानदार रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनको प्रस्तावमा थप भनिएको छ, “यदि पुस महिनाभित्र कार्यतालिकाअनुसार १५औँ महाधिवेशन कुनै कारण वा नियतमै नहुने देखियो भने, पुसको अन्तिमसम्म प्रतीक्षा गर्नुपर्दैन। पुसकै उपयुक्त समयमा निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ।”
