नेपाली कांग्रेसले मंसिर मसान्तभित्र राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको नाम सिफारिस गर्न सम्बन्धित निकायहरूलाई परिपत्र गरेको छ। यो परिपत्र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकको सोमबारको निर्णयअनुसार जारी गरेका हुन्।
केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, “११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि विधानको धारा ३२ को उपधारा ९ (क) तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका उम्मेदवारका लागि विधानको धारा ३२ को उपधारा ८ (क) अनुसारको प्रक्रिया पूरा गरी नाम प्रस्ताव तथा सिफारिस गर्न स्पष्ट निर्देशनसहित परिपत्र गर्ने।”
कांग्रेसले तल्ला तहबाट मंसिर मसान्तभित्र सिफारिस प्राप्त भएपछि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका उम्मेदवारहरूको टिकट एकैपटक वितरण गर्ने जनाएको छ।
