नेपाली कांग्रेस महामन्त्री गगन थापाले भदौ २३ र २४ को घटनापछि देशको राजनीतिक परिस्थिति पूर्ण रूपमा बदलिएको बताउँदै पार्टीले आमनिर्वाचनअघि नै महाधिवेशन गर्नैपर्ने धारणा दोहोर्याएका छन्। उनका अनुसार भदौ २३ सम्म कांग्रेस सरकारको मुख्य साझेदार, संसदको ठूलो दल तथा नियमित गतिविधिसहित १५औँ महाधिवेशन २०८३ मंसिरमा गर्ने तयारीमा थियो। तर जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनले असाधारण उथलपुथल ल्याएपछि सरकार सडकबाटै अपदस्त भयो, अन्तरिम सरकार गठन भयो र संसद विघटन हुँदै फागुन २१ का लागि निर्वाचन घोषणा भयो।
थापाले भने, “भदौ २३ र २४ का घटनाले हामी उभिएको राजनीतिक भूमिका एकैपटक भासियो। त्यसपछि बनेको नयाँ परिस्थिति सामान्य प्रक्रिया र समयसीमाले होइन, संकटले चलाएको अवस्था थियो।” उनका अनुसार यही परिवर्तित परिस्थिति हेर्दा कांग्रेसले नियमित प्रक्रियाबाट अघि बढ्न नसक्ने भएकाले आफूले निरन्तर चुनावअगाडि अधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको बताए।
थापाले कांग्रेसको इतिहासमा पार्टीले गम्भीर राजनीतिक मोडबिन्दुमा अधिवेशन, महासमिति बैठक वा विशेष अधिवेशनमार्फत् नयाँ नीति, नेतृत्व र दिशा तय गर्दै आएको उल्लेख गरे। उनले भने, “कांग्रेसले इतिहासभर सीमित इको–च्याम्बरबाट बाहिर निस्केर कार्यकर्ताको आवाज सुनेर निर्णय गरेको छ। अहिले पनि त्यही आवश्यक छ।”
उनले पार्टीले नेताहरूको आवाज मात्र होइन, जेनजी आन्दोलनबाट आएको सन्देश ग्रहण गर्दै आफ्नो गल्तीको आत्मसमिक्षा गर्नुपर्ने, समाजलाई अति दलीयकरणबाट मुक्त गर्ने प्रतिबद्धता जनाउनुपर्ने र आन्तरिक सुधारमा लाग्नुपर्ने बताए।थापाका अनुसार असोज २७ को बैठकमा आफूले समयमै १५औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरे पनि प्रक्रिया रोकिँदा पार्टीले ४५ दिन खेर फालेको दाबी गरे।
“यदि प्रक्रिया असोजमै सुरु भएको भए, आज तल्लो तहका अधिवेशनहरू सकिएको हुने थियो,” उनले भने।
थापाले आज पेस गरिएको कार्यतालिकाअनुसार पुस मसान्तअगाडि महाधिवेशन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने, “महाधिवेशन सफलतापूर्वक गर्ने कि नगर्ने भन्ने कुरा कार्यान्वयनको नियतमाथि निर्भर छ।” थापाले थपे पार्टी विधानअनुसार १५औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत भए पनि असोज २९ मा दर्ता गरिएको विशेष अधिवेशन मागको ५४ प्रतिशतभन्दा बढी हस्ताक्षर यथावत् रहेको विषय कार्यकर्तालाई थाहा छ।
उनका शब्दमा, “विशेष अधिवेशन मागकर्ताहरूले चाहेको पनि यही हो—आमनिर्वाचनअघि पार्टीले महाधिवेशन गर्नैपर्छ। उनीहरूलाई धन्यवाद दिन चाहन्छु।” थापाले चेतावनी दिँदै भने, “आलटाल गर्ने नियत राखियो भने कार्यकर्ता झुक्किएलान्, तर मतदाता झुक्किँदैनन्। हाम्रो जवाफदेहिता सबैभन्दा पहिले जनतासँग छ।” उनले महाधिवेशनबाट नयाँ नेतृत्व, नीति र सन्देश लिएर जान नसके कांग्रेस जनताप्रति विश्वसनीय हुन नसक्ने बताए।
अन्त्यमा उनले भने, “यदि पुसभित्रै महाधिवेशन असम्भव देखियो भने पुस सकिनु अघि नै विशेष महाधिवेशन गर्ने निर्णयमा जानुपर्छ। आमनिर्वाचनअघिको अधिवेशन कांग्रेसका लागि अनिवार्य हो।” थापाले आफ्नो सम्पूर्ण धारणा लिखित रूपमा पार्टी बैठकको अभिलेखमा राख्ने बताए।
