पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्नेको धारणा व्यक्त गरेकी छन्। उक्त समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा दिएको अन्तर्वार्तामा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको रूपमा ओलीले नैतिक रूपमा जिम्मा लिनुपर्ने बताइन्।
उनले भनिन्, “त्यस समय घटना सरकारकै समयमा भएको थियो। प्राकृतिक प्रकोप हुँदा पनि सरकारलाई दोष आउँछ। किनकि सरकार व्यवस्था गर्न, चेतावनी दिन, सतर्कता अपनाउन जिम्मेवार हुन्छ। यहाँ पनि विद्यार्थी जुलुसमा सुरक्षा व्यवस्थापन कमजोर देखियो। गोलाबारी हुँदा नवपुस्ताका करिब २२ जनाको एकैचोटि मृत्यु हुनु नेपाल इतिहासकै अत्यन्त दुःखद घटना हो। यसका लागि तत्कालीन सरकारलाई अपजस त आउँछ नै, जिम्मेवारी पनि लिनुपर्छ।”
भण्डारीले राजनीतिक नेतृत्वको दोष–स्तर बारे बहस हुन सक्ने भए पनि नैतिक जिम्मेवारी स्पष्ट रूपमा आउने बताइन्।
उनका अनुसार, “२३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनै पर्छ। नैतिक जिम्मेवारी कुनै पनि पदमा बसेको व्यक्तिले लिनुपर्छ। तपाईंको मातहतमा घटना घट्यो भने अभिभावकको भूमिकाबाट पनि राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी वहन गर्नुपर्छ।”
उनले सुरक्षा परिचालनमा कमजोरी, सूचना प्रवाह, र तयारीतर्फ पनि प्रश्न उठाउँदै घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान हुनुपर्ने बताइन्। भण्डारीको भनाइमा, “अनुसन्धानले वास्तविकता ल्याउनुपर्छ। तर जुन दिन घटना भयो, त्यसको नैतिक जिम्मेवारी त स्वतः आउने कुरा हो सम्बन्धित पात्रहरूले स्वीकार गरे पनि नगरे पनि।”
भदौ २३ गते संसद भवन अगाडि जेनजी प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको मृत्यु भएको थियो। सोही स्थानमा घाइते भएका थप ४ जनाको उपचारका क्रममा निधन भएको थियो। भदौ २४ सम्म जेनजी प्रदर्शनका क्रममा कूल ७६ जनाको ज्यान गएको थियो।
