हामी नेपालका संस्थापक सुदन गुरूङले पोखरामा तय भएको कार्यक्रममा नेकपा एमालेले अवरोध पुर्याउन खोजेको आरोप लगाएका छन्। पोखरामा आज गुरूङलाई सम्मान गर्ने कार्यक्रम निर्धारित छ, जसका लागि पोखरा उद्योग वाणिज्य संघको सभाहल तयारी अवस्थामा रहेको छ।कार्यक्रमअघि गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूहरू पोखरा आउने जानकारी सार्वजनिक भएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको दाबी गरेका छन्।
गुरूङले लेखेका छन्, “पोखरामा जेनजी भाइबहिनीको संगठन बलियो बनाउन र देशप्रेमी आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीहरूलाई भेट्न हामी निस्किएका थियौं। तर हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको जानकारी पाएँ।”
उनले आफूहरू कसैसँग पनि सामना गर्न नडराउने उल्लेख गर्दै थपेका छन्, “हाम्रो कदम यसले रोक्दैन। हामी हिजो देशका लागि लडेर आएका हौं, आज कसैसँग सामना गर्न डराउँछौँ भन्ने प्रश्नै उठ्दैन। हामी सदैव सत्य र देशको पक्षमा उभिन्छौं। जेनजी दाजुभाइ–बहिनीहरूको आवाजसँग जोडिन्छौं र अझ बलियो बन्छौं।”
गुरूङले अन्त्यमा लेखेका छन्, “हामी झन्डा गर्वका साथ उचाल्छौं। शिर ठाडो पारेर पोखरा आउनेछौं। तिमीहरूले गलत पुस्ताका युवाहरूसँग निहुँ खोज्यौ।”
