काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा अनुसार केन्द्रीय बैंकले लचिलो नीतिगत रुख अपनाउँदै ब्याजदर करिडोरका दरहरू घटाएको छ र व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा विस्तार गरेको छ।
राष्ट्र बैंकले स्थायी तरलता सुविधा (SLF) दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशतमा ल्याएको छ। नीतिगत दर पनि ४.५० प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम गरिएको छ। यद्यपि, निक्षेप संकलन दर २.७५ प्रतिशतमै यथावत राखिएको छ।व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउँदै अब यसको अधिकतम सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ तोकिएको छ।
यसबाहेक, बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा अनिवार्य रूपमा १ प्रतिशत विन्दुले कम राख्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले खारेज गरेको छ।
