काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरुले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रवन्धअनुसार चल्न निर्देशन दिएका छन् ।
कुनैपनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको पनि उनले उल्लेख गरेका छन् । मन्त्री पुनले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्नसकिने चेतावनी दिएका छन् ।
विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको पनि जानकारी दिएका छन् ।
