काठमाण्डौं । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। सेन्ट्रल मिडफिल्डर दीपेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पनि पुनरागमन गरेका छन्।
नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत रहेका हरिले पहिलोपल्ट पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समालेका हुन्। उनै हरिले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन्। नेपाली टोलीबाट विमल पाण्डे र अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु बाहिरिएका छन्।
गत सेप्टेम्बरमा घरेलु भूमिमा बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आदित्यले राष्ट्रिय टोलीबाट खेलेका थिए। निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुवै लेगमा भने आदित्यलाई नेपाली टोलीमा राखेनन्। म्याट रसले गत कात्तिक १३ गते नै नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। त्यससँगै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले पूर्वराष्ट्रिय खेलाडी हरि खड्कालाई उक्त जिम्मेवारी सुम्पिएको हो। तीन दिनको प्रारम्भिक खुला छनोटपछि उनले १२ खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली तयार पारेका छन्। उक्त टोलीमा नेपाली यु–२३ टोलीबाट प्रतिनिधित्व गरेका उदीयमान मिडफिल्डर दीपेशलाई अवसर दिएका छन्।
दीपेशले गत सेप्टेम्बरमा मात्र ताजकिस्तानमा सम्पन्न यु–२३ एसियन कप छनोटमा खेलेका थिए। नेपाली टोलीको मिडफिल्डमा दीपेशसँगै लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, एरिका बिष्ट, मनीष डाँगी, योगेश गुरुङ, कुशल देउबा तथा डिफेन्डरमा अनन्त तामाङ, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, अभिशेक लिम्बू र रोहित चन्द छन्। नेपालको अग्रपंक्तिमा अञ्जन बिष्ट, आयुस घलान, जिलेस्पीजंग कार्की, सुवास बम ठकुरी र दिनेश हेन्जनले समाल्नेछन्। अञ्जन प्रशिक्षक हरिसँगै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सूचीमा शीर्ष स्थानमा रहेका स्ट्राइकर हुन्।
नेपाली टोलीको तीन गोलकिपरमा कप्तान किरणसँगै दीप कार्की र विशाल सुनार छन्। आगामी नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ। एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटमा दुई खेल खेल्न बाँकी छ। पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो।
