काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नवगठित दल नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । आज ( बुधबार ) भृकुटीमण्डपमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत यो दल पहिलो ९एक नम्बर० को हुने दाबी गरेका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ ।’ दाहालअघि बोलेका वामदेव गौतमले पनि नेकपाको पार्टी सदस्य ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका थिए ।
प्रधानमन्त्री कार्कीको भनाईप्रति दाहालको गुनासो
दाहालले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरुसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् । हालै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले जेनजी अगुवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई भेट्न नचाहेको स्पष्ट पारेकी थिईन् । त्यही विषयमा प्रचण्डले आज गुनासो पोखेका हुन् । नेकपाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले आफूले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनको लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।
