काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्। उनले आफूविरुद्ध फैलिरहेका भ्रामक समाचार र प्रचारप्रति ध्यानाकर्षण गर्दै यो निर्णय लिएको बताएकी छन्। सोमबार दाहालले प्रेस विज्ञप्तिमार्फत आफूले भाइ प्रकाश दाहालको निधनपछिको अवस्थामा आमाको हेरचाह र सचिवालयको जिम्मेवारी निर्वाह गर्दै पार्टी र अध्यक्षलाई सहयोग गरेको स्पष्ट पारेकी छन् ।
उनले आफूले सधैं निस्वार्थ भावमा रहेर काम गरेको र कहिल्यै व्यक्तिगत लाभका लागि कदम चाल्ने प्रयास नगरेको दाबी गरिन् । निरन्तर मलाई देखाएर नेकपा ( माओवादी केन्द्र ) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु, उनले विज्ञप्तिमा भनेकी छन् ।
उनले साथीभाइले जन्मदिनमा दिएका उपहारलाई लिएर समेत भ्रामक प्रचार भइरहेको बताउँदै विज्ञप्तिमा भनेकी छन्, कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन ।
साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो। अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ । भ्रामक प्रचार र निरन्तर प्रहारका कारण सचिवालयबाट बाहिरिने निर्णय गरेको दाहालले बताइन्। उनले भनेकी छन्, पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु।