काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारलाई पूर्णता दिने तयारी तिव्र पारेकी छिन् । सरकार गठन भएको एक महिना व्यतित हुँदापनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सार्वजनिक रुपमा आलोचना बढ्न थालेपछि प्रधानमन्त्री कार्की आजरभोलिभित्रै मन्त्रिपरिषद् पूर्णता दिनेगरि गृहकार्यमा जुटेकी छिन् ।
रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय नेतृत्वविहीन भएको भन्दै प्रश्न उठन् थालेको छ । तर, प्रधानमन्त्री कार्की भने यी दुवै मन्त्रालय आँफै राख्ने निश्कर्षमा पुगेकी छिन् । जेनजी आन्दोलनका अगुवाहरुको भावनासमेत समेट्नेगरि प्रधानमन्त्री कार्की आज साँझसम्म मन्त्रिहरुको नाम तय गर्नेगरि छलफलमा जुटेकी छिन् ।
तिहारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बालुवाटारको तयारी छ । यसअघि प्रस्तावित नामहरु विवादमा परेकोले प्रधानमन्त्री कार्की केही दिन रोकिएकी हुन् । तर, अब मन्त्रीहरु नियुक्त गरेर सरकारलाई पूर्ण रुपमा चलाउनेगरि प्रधानमन्त्री कार्की अघि बढेकी छिन् ।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि नै राजनीतिक दलका शीर्ष नेतृत्वसँग २१ फागुनको प्रतिनिधिसभाको तयारीको सन्दर्भमा छलफल गर्ने भएकी छिन् । यसअघि माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भने उनले बालुवाटारमा सम्वाद गरिसकेकी छिन् । एमालेले चुनावमा भाग नलिने चूनौति दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक र हिजो ( शनिबार ) पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा पनि अहिलेको अवस्थामा एमाले चुनावमा नजाने चूनौति दिएका छन् । प्रधानमन्त्री कार्कीलाई बालुवाटारमा नै दलका नेताहरुसँग सम्वाद गर्न दबाब परेको छ । यसअघि राष्ट्रपति कार्यालय शितलनिवास र निर्वाचन आयोगमा यस्तो छलफल हुने गरेको थियो । अब भने बालुवाटारमा नै गर्न प्रधानमन्त्री कार्कीलाई सुझाईएको छ ।