काठमाडौं। सरकारले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै आज सुरक्षा रणनीतिबारे छलफल गर्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुन लागेको हो । उक्त छलफलमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी रहनेछन्।
गृहमन्त्री अर्यालले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गठन गरेका थिए । यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लामा पठाउने र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयनको विषयमा आजको बैठकमा छलफल हुँदैछ। साथै बैठकले सुरक्षा योजनाको प्रगति समीक्षा गर्दै आवश्यक नीतिगत निर्देशन पनि दिनेछ।
यसअघि निर्वाचनको सुरक्षाको विषयलाई लिएर हिजो राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशिला कार्कीकासाथै चारवटै सुरक्षा निकायका प्रमुखहरूबिच छलफल भएको थियो । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित उक्त बैठकमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण र मुलुकको समग्र सुरक्षा सुदृढीकरणका उपायहरूको बारेमा छलफल भएको छ ।
