काठमाडौं। कैलालीको जानकी गाउँपालीका–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीहरुले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी मृत्यु भई दर्तासमेत गरिसकेका व्यक्तिहरुलाई प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीमा नवीकरण गरे गराई सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको अभिलेखमा समावेश गराएको, एक व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको रुपमा अभिलेख राखेको, नवीकरण नै नभएका व्यक्तिहरुसमेत लाभग्राहीको रुपमा अभिलेख देखाई देखाउन लगाई उक्त अभिलेखहरुको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औठाछाप आफैंले गरेको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष भण्डारीसहित तत्कालीन वडा सचिव प्रेम बहादुर बुढा, जानकी गाउँपालिका वडा नंं ९ का कार्यालय सहयोगी सोनम कठरिया, जानकी गाउँपालिका वडा नं. ९ का तत्कालीन खरिदार पूर्ण बहादुर विष्ट, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल र शेर बहादुर विश्वकर्मालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । तत्कालीन वडासचिज बुढाले दाहिने हातको बुढी औलाको औठाछाप २८० थान, माझी औंलाको औठाछाप १९९ थान गरी जम्मा ४७९ थान औठाछाप गरेको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको बताइएको छ ।
त्यस्तै, कार्यालय सहयोगी कठरियाले दायाँ हातको बुढी औलाको औठाछाप जम्मा २०४ थान लगाएको पाइएको छ । उनीहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नै नआएका लाभग्राहीहरु भनिएका व्यक्तिहरुको नवीकरण भएको झुट्टा कागजात तयार गरी बजेट प्राप्त गरी गराई बैक खातामा रकम निकासासमेत गरे गराएको पाइएको अख्तियारको भनाइ छ । उनीहरुले आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ को दोश्रो चौमासिकसम्म ६८३ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्तामा जम्मा ७३ लाख ३७ हजार ६ सय २७ अनियमितता गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।