काठमाण्डौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्न आग्रह गरिरहेका छन्। दोस्रो दिनको बैठकमा एमाले केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गराउन माग गरेका हुन्। जेनजी आन्दोलनपछि एमाले केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीलाई अभिभावक भएर बस्न आग्रह गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न पनि माग गरेका हुन्। एमाले संगठन विभागका सचिव माधव ढुंगेलले भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने भन्दै लिखित प्रस्ताव नै पेि गरेका छन्। ‘माधव ढुंगेलले बोल्दा बोल्दै भ्याउनु भएन उनले पार्टी सदस्यता नवीकरण गर्न दिनुपर्छ भनेर लिखित रूपमा बुझाउनु भएको छ,’ केन्द्रीय सदस्य रमेश पौडेलले भने।
एमाले केन्द्रीय सदस्य रचना खड्का युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरी, रमेश पौडेल तथा विद्या सुन्दर शाक्यले पनि विद्या भण्डारीको सदस्यता नवीकरण गर्न र ओलीलाई अभिभावकत्व लिएर पार्टी अघि बढाउन आग्रह गरेका थिए। बुधबार र बिहीबार बोल्ने केन्द्रीय सदस्यहरू मध्ये संगठन विभागका सचिवबाटै नवीकरणको प्रताव गरिएको छ। एमालेलाई अहिलेको पुस्तासँग जोडेर अघि बढाउनुपर्छ त्यसका लागि सबै तयार हुनुपर्ने धारणा केन्द्रीय सदस्य रचना खड्काले राखेकी थिइन्।
त्यसैगरी केन्द्रीय सदस्य रमेश पौडेलले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई एमाले ल्याउनुपर्छ, घर फर्कनुपर्छ भन्दै गर्दा विद्या भण्डारीलाई सदस्यता नदिने हो भने पार्टी एकताबद्ध कसरी हुन सक्छ भन्दै भण्डारीको सदस्यता नवीकरणको प्रस्ताव गरेका थिए। उनले पार्टीलाई सम्पूर्ण हिसावले नीति विधिमा पुनर्संरचना गर्नुपर्छ, त्यो उपयुक्त फोरमबाट गर्नुपर्छ भन्दै त्यसका लागि नेतृत्वलाई आग्रह गरेका थिए। साथै केन्द्रीय सदस्य पौडेलले एमालेले गरेका राम्रा र नराम्रा कामको श्वेतपत्र जारी गर्न पनि आग्रह गरेका छन्। अधिकांशले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्दा उठेको पनि पनि अधिकांश सदस्यहरूले आफ्नो धारणा राखेका छन्।
सचिवालय बैठकमा उपाध्यक्षहरू र सचिवसहितका केही नेताले ओलीले राजीनामा दिएर नेतृत्व पुनर्गठनमा जानुपर्ने कुरा उठाएका थिए। केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताउदै आएपनि जेनजी विद्रोहलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। एमालेले मंसिरको अन्तिम साता पोखरामा महाधिवेशन गर्ने जनाएका छन्।
केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताए। ‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ। तर, कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिँदैछ। यो गलत भाष्यलाई चिर्न सबै पार्टी पंक्ति परिचालित हुनु पर्दछ,’ उनले भने।
केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताका सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकी थिइन। ‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाऊँ जसले नेताका सम्पत्तिकोको छानबिन गरेर सार्वजिनक गरोस्,’ मेनुकाले भनिन्। बैठकमा वर्णानुक्रम अनुसार हेमराज राईदेखि रूपनारायण श्रेष्ठसम्म रचना खड्का, गिरिधारीलाल न्यौपाने, यज्ञराज सुनुवार, सूर्य ढकाल, विद्यासुन्दर शाक्य, यज्ञराज सुनुवार, लगायतका नेताहरुले आफ्नो धारणा राखेका छन्।
