काठमाण्डौं । नेपाल आइसिसी टी–२०विश्वकपमा छनोट भएका छन्। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भएको हो। ओमानमा भइरहेको आइसीसी टी– २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो।
अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् । नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ ।
नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ । २०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरुलाई कडा टक्कर दिएको थियो