काठमाडौं, २९ असोज । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) बाट जितेन्द्र सोनल र नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवको दाबी परेको छ । दुवै जनाले जनमत पार्टीको १३ सांसद्को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । सोनलले जसपा नेपालका १९, जनमत पार्टीको १३, नेकपा ९माओवादी केन्द्र० को ९, लोसपा नेपालका ८ र नेकपा ( एकीकृत समाजवादी) का ७ गरी ५६ सांसद्को समर्थनमा आज विहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिर्ए ।
त्यस्तै कांग्रेस नेता यादवले पनि कांग्रेसको २२, एमालेको २५ र जनमतको १३ सांसदको समर्थन पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् । कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउनका लागि कम्तिमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले आफूहरुको समर्थन लोसपाका सोनललाई रहेको बताए । कांग्रेस नेता यादवले पेश गरेको दाबीमा आफूहरुले हस्ताक्षर नगरेको पनि उनले बताए । उक्त हस्ताक्षर पुरानो कन्टेक्स्टमा भएको हुनसक्ने उनले आशंका व्यक्त गरे । ‘हाम्रो समर्थन जितेन्द्र सोनललाई हो । कांग्रेस नेता कृष्णप्रसाद यादवलाई समर्थन छैन । त्यो कुनै पुरानो कन्टेक्स्टमा होला,’– उनले भने ।