काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताए।
लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने घिमिरेले बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । वर्तमान सरकार र संसद् विघटन भने असंवैधानिक रहेको उनको जिकिर छ । सर्वोच्च अदालतमा संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरू चाल्ने उनले बताए ।
उनले भने, ‘लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौँ । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’ उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।