काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनकाबारे दलहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज विहान ९ बजेदेखि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा ( एमाले) , नेकपा ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ( एकीकृत समाजवादी ) , जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई छलफलका लागि बोलाएका थिए ।
बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत सहभागी रहेका छन् । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परेको छ । संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् ।
सभामुख देवराज घिमिरेले आज संसद विघटनका विषयमा राय लिन बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) अनुपस्थित बनेको छ । बैठकमा विघटित प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतकहरुलाई निम्त्याइएको थियो । कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका पूर्व प्रमुख सचेतकहरु बैठकमा उपस्थित छन् । रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार भने गएनन् । उनले पार्टीको सचिवालय बैठक बसिरहेकाले आफू जान नपाएको बताए ।
