काठमाण्डौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको डीएनए परीक्षणबाट पनि मृत्यु भएको पुष्टि भएको छ।इजरायली सञ्चारमाध्यम ‘द जेरुसेलम पोस्ट’ र ‘टाइम्स अफ इजरायल’ का अनुसार सोमबार साँझ हमासले हस्तान्तरण गरेका चार शवमध्ये एक विपीनको रहेको डीएनए परीक्षणबाट खुलेको हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिमबाट बन्धक बनाएका २३ वर्षीय विपीनको शव सोमबार अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाइएको थियो। रेडक्रसले उक्त शव इजरायली सेना ( आईडीएफ ) लाई हस्तान्तरण गरेको थियो। शव प्राप्त भएपछि इजरायली सेनाले राष्ट्रिय फरेन्सिक चिकित्सा संस्थानमा डीएनए परीक्षण गराएको थियो। परीक्षणको नतिजा विपीनको परिवारको डीएनए नमुनासँग मिलेपछि उनको मृत्युको औपचारिक पुष्टि भएको हो। इजरायली सेनाले विपीनको परिवारलाई यस खबरको जानकारी गराइसकेको र शव बुझ्नका लागि अनुरोध गरेको छ।
आईडीएफका अनुसार, जोशीलाई किबुज अलुमिमको एक बम शेल्टरबाट अपहरण गरिएको थियो। प्राप्त गुप्तचर जानकारीका आधारमा युद्धको सुरुवाती महिनाहरूमा नै उनको हत्या गरिएको सेनाको अनुमान छ। यद्यपि, मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि गएका विपीनसहित अन्य १६ नेपाली विद्यार्थी रहेको ठाउँमा हमासले आक्रमण गरेको थियो। उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपीनलाई हमासले बन्धक बनाएर लगेको थियो।