काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् । बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् ।
अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् । कांग्रेस नेताहरु बैठकमा आउने क्रम सुरु भएको छ । सुरक्षा संवेदनशीलता भन्दै केन्द्रीय सदस्यहरुलाई कार्यलयभित्र गाडी लैजान दिइएको छैन । उनीहरुले अन्यत्रै गाडी पार्क गरेर आउनुपर्ने छ । पत्रकारहरुलाई पनि कडाइ गरिएको छ । सबैजना देउवाको पर्खाइमा छन् ।
