इलाम । गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् । शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री आउँदा प्रदेश सरकारसँग समन्वय गरेका छैनन्, समन्वय नहुँदा प्रदेशको सहभागिता पनि भएको छैन ।
सडक नखुल्दा स्थानीयहरुले निकै सास्ती भोग्नु परेको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीले सम्वन्वय गरेर सडकमा यात्रा गर्ने यात्रुहरुलाई सहजीकरण गरीरहेका छन् । उनिहरुले बिरामीहरुलाई स्ट्रेचरमा बोकेरै माईखोला कटाईरहेका छन् । अवरुद्ध सडक खुलाउन निरन्तर काम भईरहेको छ ।
विराटनगरमा रहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री मन्त्रीरामबहादुर मगरले संघबाट मन्त्री आएको औपचारिक जानकारी नै नपाएको बताए । शनिबार पुगेका मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भए ।
छलफलका क्रममा पालिका प्रमुखहरुले बाढी र पहिरोबाट क्षतिग्रस्त भएका संरचना पुननिर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा उनले कुनै घोषणा गरेनन् । तर, संघीय सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेका कारण प्राथमिकताका साथ काम गर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मन्त्री घिसिङ सहितको टोलीले इलाम नगरपालिका– १० को माइटापु, इलाम नगरपालिका ९ को राजदुवाली सडकखण्ड, मेचीराजमार्ग पुवाखोलास्थित मिलगोलाई क्षेत्रको निरीक्षण गरेको थियो । मन्त्री घिसिङ्गलाई सोही क्रममा इलामकाजेनजी प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका विपद प्रभावित क्षेत्रहरूका विषयमा जानकारी लिएको उनले बताइन् ।
छलफलका क्रममा स्थानीय पालिका प्रमुखहरुले तत्कालका लागि चाहिने जिन्सीभन्दा पनि पुननिर्माणमा सहयोग गर्न आग्रह गरेको उनले बताए । ‘पालिका प्रमुखज्यूहरुबाट तत्कालका लागि राहत सामग्रीभन्दा पनि भत्किएका सडक र भौतिक संरचना निर्माणका लागि आग्रह गर्नु भएको छ’, उनले भनिन्, ‘पालिकाहरुले राहत चाहिँ लगभग लगभग पुगिसकेको छ, पुनर्स्थापना नै हो भन्नुभएको छ ।’ मन्त्रीले घिसिङले पालिकाको समस्याहरु टिपेर लगेका थिए । बाढी पहिरोमा परी इलाममा ३९ जनाको मृत्यु भएको थियो । २३८ परिवार विस्थापित भएका थिए । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै खुलेको छैन ।