काठमाण्डौं । जेनजी अभियन्ता मिराज ढुंगाना सहितको टोलीले गृहमन्त्री ओम प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । बिभिन्न ५ बुदे मार्ग राख्दै आज गृहमन्त्रालयलयमा मिराज सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
गत भदौ २३ गते र २४ गते भएको आन्दोलनका क्रममा जेनजी आन्दोलनमा सहभागी भएका आन्दोलनकारीहरु माथि भएको धरपकड, पक्राउ र अनावश्यक दुःख दिने काम भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ । ५ बुदे ज्ञापनपत्रमा निम्नानुसार मागहरु राखीएका छन् ।
१. जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी माथि राज्यपक्षवाट भएका धरपकडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आन्दोलनकारीलाई अनावश्यक दुःख दिने काम राज्य पक्षले तत्काल बन्द गरोस् र दोषीलाई कडा कारवाही र निर्दोषलाई रिहाईका लागि अपिल गर्दछौं ।
२.गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जेनजीका नाममा अनावश्यक रुपमा भएको घुसपैठमा दोषी देखिएका, चोरी, डकैती लगायत अपराधिक क्रियाकलापमा संलग्न भएकाहरुलाई कारवाही गर्न सरकारले खुट्टा नकमावस् । घुसपैठवाट श्रृजित अराजक गतिविधिको स्वामीत्व जेनजी समूहले नलिने ब्यवहोरा समेत जानकारी गराउँदछौं ।
३. आन्दोलनका क्रममा घाईते भएका सुरक्षाकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौं । आन्दोलनले सुरक्षाकर्मीको मनोबल निकै घटेको हामीले महशुष गरेका छौं । अतः सरकारले सुरक्षाकर्मीहरुको मनोबल बढाउने खालका कार्यक्रमहरु तत्काल संचालन गर्न आग्रह सहित माग गर्दछौं ।
४. आन्दोलनका क्रममा बिभिन्न कारागारवाट भागेका कैदीबन्दीहरुलाई तत्काल पक्राउ गरी कानूनी राज्यको प्रत्याभूति दिलाई जनतामा कायम रहेको भय त्रासको बातावरण अन्त्यका लागि माग गर्दछौं । साथैं राज्यवाट लुटिएका हातहतियार छिटोभन्दा छिटो सम्वन्धित स्थानमा बुझाउने बातावरण तयार पार्न माननीय मन्त्रीज्यूलाई आग्रह गर्दछौं ।
५. अक्टोबर ८ तारीख र ९ तारीखमा हुने भनिएको आन्दोलनमा जेनजी पक्षको कुनै संलग्नता नरहेको र नरहने ब्यवहोरा समेत अवगत गराउँदछौं ।
